आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आजको हुम्ला यात्राले मलाई भावनात्मक र उत्साहित बनाएको छ : प्रधानमन्त्री

आइतबार, असार २२ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुम्ला जोड्ने कर्णाली करिडोरको पुल उद्घाटन गर्दैछन् ।

कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माणाधीन बेलिब्रिज उद्घाटन गर्न उनी हुम्ला जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गर्न जानुअघि आफू उत्साहित भएको बताएका छन् । उनले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएपछि एक युवाले एआईमार्फत बनाएको भिडियो सामग्री सेयर गर्दै उत्साहित भएको उल्लेख गरेका छन् ।

‘आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ’, उनले लेखेका छन्, ‘यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ ।’

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ४१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘कर्णाली करिडोर सडक जोडिएपछि एक युवाले एआई प्रयोग गरी बनाएर पठाएको यो भिडियो र आजको हुम्ला यात्राले मलाई भावनात्मक र उत्साहित बनाएको छ।’ उनले भनेका छन् ।