काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ। बैठक आज बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
आजको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीगत सांगठनिक विषयहरू, सरकारका कामकारबाही र सरकारले ल्याएको बजेटबारे समीक्षा हुने बताइएको छ।
असार १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।
कांग्रेस र नेकपा एमालेबीचमा सत्ता समीकरण बनाउँदा बनेको सहमतिअनुसार सरकारले गति लिन उनीहरूको टिप्पणी छ । सत्तारूढ गठबन्धनको एकवर्षे कार्यकालको समीक्षा गर्दै कांग्रेस नेताहरूले असफलता र सुधारको आवश्यकतालाई औँल्याएका हुन् ।
केन्द्रीय सदस्यहरूले प्रभावकारी सरकार, सुशासन र अर्थतन्त्र सुधारका लागि नयाँ रणनीति र विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस-एमालेबीचमा बनेको सहमतिअनुसार संविधान संशोधनको मुद्दाले प्राथमिकता नपाउँदा कांग्रेस नेताहरूले चिन्ता व्यक्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउन दुई दलले अघिल्लो १७ असारमा सात बुँदे सहमति गरेका थिए । दुई दलको सत्ता समीकरण बनाउँदा संविधान संशोधनको एजेण्डालाई प्राथमिकताका साथ उठाइएको थियो ।
सरकारले एकवर्ष पूरा गर्नै लाग्दासमेत संविधान संशोधनका ती विषयले गति लिन सकेको छैन । कांग्रेस-एमालेको उच्चस्तरीय संयन्त्रमा संविधान संशोधनका लागि दुई दलमा आपसी संवाद गर्न कार्यदल बनाउने मोटामोटी सहमतिसमेत भइसकेको थियो । तर, दुई दलका नेता र कानुनविद् सम्मिलित कार्यदल बनाउने तयारी गरिए पनि गठन हुन सकेको छैन । संविधान संशोधनको मुद्दाले प्राथमिकता नपाएपछि कांग्रेस नेताहरूले जारी केन्द्रीय समिति बैठकमा एमालेसँग भएको सहमतिको कार्यान्वयन सम्बन्धमा जानकारीसमेत माग गरेका छन् ।