सुनसरी । श्रमदान गर्न आएका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन् ।
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको हो ।
पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन् ।
जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए । धरान बहुभाषिक पाठशाला निर्माणको बेला श्रमदान गर्न आएका राईले बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोप छ ।
प्रहरीका अनुसार पक्राउ परेका राई श्रमदातालाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ ।