काठमाडौं । काठमाडौंको एक इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यसवर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेकी थिइन् । स्थानीय एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी उनले सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि एसईई ४ जीपीए ल्याएकी थिइन् ।
भक्तपुरबाट यस वर्षको एसईईमा ३० जना विद्यार्थीले सर्वोत्कृष्ट चार जीपीए ल्याएका छन्। गोमा चार जीपीए ल्याउने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट विद्यार्थी हुन्।
गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको सुनाइएकी थिइन् ।
उनै गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका छन् ।
बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए ।
गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका छन् ।
गोमाको थातथलो रामेछापको खनियाँपानी हो। उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आएकी थिइन्। परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताएका छन् ।