आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कुलिङ पिरियडमा भएको हेरफेरको जिम्मा समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा

मंगलबार, असार १७ २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले लिनुपर्ने आवाज उठेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमालेका सांसद सूर्य थापाले समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै प्रश्न गरे ।

थापाले फेसबुकमा लेखेका छन्, ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ ।’

उनले यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुन नसक्ने बताएका छन् । समितिबाट पास भएको विधेयक प्रतिवेदनको अंश समेत राख्दै थापाले भनेका छन्, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन नै हावी देखियो। सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत गर्‍यो ? यो गम्भीर विषय हो ।’

यता  सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गरेका छन् । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह गर्दै नेता कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने बताएका छन् ।

यस विषयमा राज्य व्यवस्था समितिका सदस्यहरुले आज सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् ।