काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान युद्धविराम गर्न तयार भएको दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले १२ दिन लामो द्वन्द्वलाई अन्त्य गर्न इजरायल र इरान सहमत भएको दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन् । प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ। त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन्।
राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।
उनले सबैलाई एकताको सन्देश दिँदै भनेका छन्, ‘ईश्वरले इजरायललाई आशिर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशिर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशिर्वाद दिनुहोस्।’