एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन्। यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ।
यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।
राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भने, ‘सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन्। फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो।’
उनले थपे, ‘सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो।’
यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्याएको हो।
राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिपछि इरानले प्रतिक्रिया दिने तयारी गरिरहेको देखिन्छ।
यस आक्रमणपछि इरानले प्रतिकार गर्ने संकेत दिँदै आफ्नो रक्षा क्षमता अझ सुदृढ बनाउने घोषणा गरिसकेको छ। इजरायलको प्रत्यक्ष वा अप्रत्यक्ष सहकार्यमा भएको आक्रमणले मध्यपूर्वमा द्वन्द्व चर्कने सम्भावना बढेको छ। साउदी अरब, टर्की, रुस, चीनलगायत राष्ट्रहरूले गहिरो चासो व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अन्य मुलुकहरूले संयम अपनाउन आग्रह गरे पनि स्थिति अनियन्त्रित बन्ने डर कायमै छ। युद्धको चिसो छायाँले न केवल मध्यपूर्व, तर सम्पूर्ण विश्वलाई प्रभावित पार्ने सम्भावना छ। यदि कूटनीतिक माध्यमबाट समाधान खोजिएन भने यो आक्रमण विश्वव्यापी संघर्षतर्फ उन्मुख हुन सक्छ।
संयुक्त राष्ट्रसंघको चिन्ता
अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।
अमेरिकाले गएराति इरानका आणविक स्थलमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गरेका हुन्।
उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु। यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ।’
उनले लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ। यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्याउन सक्छ।’
गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्।
‘यस संकटको कुनै सैन्य समाधान छैन। कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो र शान्ति नै एक मात्र आशा हो।’ उनले भनेका छन् ।
इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो।