एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ ।
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा आक्रमण गरेको छ ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै विमानहरू इरानी आकाशबाट बाहिर छन् । फोर्डो साइटमा पूर्ण क्षमताको बम खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा फिर्ता हुँदै छन् ।’
उनले अमेरिकी सेनालाई बधाई दिँदै यो कार्य विश्वकै कुनै पनि सेनाले गर्न नसक्ने दाबी गरे। ‘अब शान्तिको समय हो !’ उनले थपे।
ह्वाइट हाउसले ट्रम्पले शनिवार राति १० बजे (अमेरिकी समय) राष्ट्रलाई सम्बोधन गर्ने जानकारी टेलिभिजन नेटवर्कहरूलाई दिएको छ । यो हमला इजरायलले विगत एक सातादेखि इरानको हवाई रक्षा प्रणाली, आक्रामक मिसाइल क्षमता र परमाणु संवर्द्धन सुविधाहरूलाई नष्ट गर्ने क्रममा गरेको हमलापछि भएको हो ।
अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार अमेरिकी स्टेल्थ बमवर्षक बी २ र यसले बोक्न सक्ने ३०,००० पाउण्ड (१३,५०० किलोग्राम) वजनको बङ्कर बस्टर बमले फोर्डोको गहिरो भूमिगत साइट नष्ट गर्न सक्ने सबैभन्दा प्रभावकारी हतियार मानिएको थियो । रोयटर्सका अनुसार, शनिवार बिहान बी९२ बमवर्षकहरूलाई प्रशान्त महासागरको गुआम टापुमा सारिएको थियो र एक अमेरिकी अधिकारीले ती विमानहरू इरानका आणविक साइटहरूमा प्रयोग भएको पुष्टि गरे ।
इरानी सर्वोच्च नेता खामेनीको चेतावनी
इरानका सर्वोच्च नेता अयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धमा नजान चेतावनी दिएका छन् ।
उनले टेलिग्राममा पुरानो टेलिभिजन वक्तव्य पुनः सार्वजनिक गर्दै अमेरिका यदि इरानसँगको जारी तनावका बीच युद्धमा होमियो भने त्यसको ‘गम्भीर नतिजा’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।
खामेनीले भिडियो सन्देशमा भनेका छन्, ‘अमेरिका यदि यो युद्धमा प्रवेश गर्छ भने, त्यसले भोग्ने क्षति इरानले भोग्ने सम्भावित क्षतिभन्दा धेरै गम्भीर र गहिरो हुनेछ ।’
पछिल्ला दिनमा इरानले इजरायली लक्ष्यमा मिसाइल आक्रमण गरेको छ ।
यसअघि खामेनीले इरानको सार्वभौमिकता र सुरक्षामाथि आक्रमण भएमा कडा प्रतिरोध हुने बताउँदै आएका थिए ।