आज, भोलिमै संसद् खुल्ने सरकारका प्रवक्ता गुरुङ्गको विश्वास
काठमाडौं । प्रतिनिधिसभाको आज बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन ।
आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।
भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले संसद् चल्न ढिला भइरहेको बताए ।
यता सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद अवरुद्ध रहेको र आज वा भोलिमै संसद सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।