बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आईसब्रेक !

एक बर्षदेखि बोलचाल राम्रोसँग नगरेका शेखर र गगनको सम्बन्धमा सुधार

सोमबार, जेष्ठ १९ २०८२

काठमाडौं । झन्डै एक बर्षदेखि बोलचालसमेत नभएको नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच आईसब्रेक भएको छ। गगन शेखरलाई भेट्नका लागि यहि साता सम्पर्क कार्यालयमा पुगे र केही राजनीतिक कुराकानी भयो।

संस्थापनतिर ढल्किएका गगन फेरि ०७८ पछि शेखरतिर लम्किनुलाई राजनीतिक रुपमा पनि हेरिन्छ। जबकि, शेखरसँगका कतिपय उतार चढावका विषयलाई पनि त्यसरी नै नियाँलिएको थियो।

कांग्रेसको २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका कोइराला र ापाको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो।

महाधिवेशनमा कोइराला सभापतिमा पराजित भए। थापा भने लोकप्रिय मत ल्याएर महामन्त्रीमा निर्वाचित भए। त्यसपछि उनीहरूको सम्बन्ध बिस्तारै बिग्रिँदै गएको चर्चा थियो।

दुई वर्षदेखि कोइरालाले राख्ने गरेको गुटको बैठकमा थापा सहभागी थिएनन्। फरक–फरक समूहमा रहेका उनीहरू १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा एकै ठाउँमा उभिएका थिए। यद्यपि, उनीहरूको सम्बन्ध लामो समय टिक्न नसकेको चर्चा चल्यो।

२०७९ मंसिरमा भएको संघ र प्रदेशको निर्वाचनपछि संसदीय दलको नेतामा इतर समूहबाट को उम्मेदवार बन्ने भन्नेमा विवाद भयो। दुई दिनको निरन्तर छलफलबाट महामन्त्री थापा इतर समूहबाट संसदीय दलको नेताको उम्मेदवार बन्ने निर्णय भयो। दुई नेताबिच १५औँ महाधिवेशनमा डा. कोइराला सभापतिको उम्मेदवार हुने र संसदीय दलमा थापा उम्मेदवार हुने गरी सहमति बन्यो। त्यसबेला सहमतिपछि सांसद डा. सुनिल शर्माले भनेका थिए, ‘१५ औँ महाधिवेशनको सभापतिमा डा.शेखर कोइरालालाई गगन थापाले प्रस्ताव गर्ने र अहिले डा.शेखर कोइरालाले संसदीय दलमा गगन थापालाई समर्थन गर्ने सहमति भयो।’

यस्तो सहमति भए पनि २०७९ पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा डा. शेखरबाट आफूलाई सहयोग नभएको गुनासो थापाले आफ्ना निकटस्थसँग गर्दै आएका थिए।

कांग्रेसका ८९ सांसदमध्ये इतर समूहसँग ३१ सांसद थिए । यद्यपि निर्वाचनमा आफ्नो जम्मा २५ मत आएपछि डा. शेखरले सहयोग नगरेकोमा थापा ढुक्क भए। यद्यपि, त्यो विषयमा उनले मुख फोडेर केही भनेनन्।

निर्वाचनमा आफ्नो समूहको पूरा मत नपाएपछि गुटको नेतृत्व गरेको नेताको हैसियतले डा. कोइरालाले दलको नेताको निर्वाचनमा किन आफ्नो समूहमा रहेका सांसदहरू भन्दा थोरै मत आयो र कसरी यस्तो भयो भनेर सहानुभूति राख्न गुटको बैठक राख्न त परैको कुरा, मौखिक रूपमा पनि नसोधेको आफू निकटका नेताहरूसँग थापाले ब्रिफिङ गर्छन्।

एवम् प्रकारले यस्ता गतिविधिका कारण दुवैको सम्बन्धमा दरिलो आधार बनिरहेको थिएन। तर पछिल्लो भेटले भने सभापतिका आकांक्षी कोइरालालाई थापाले सघाउन सक्ने र आगामी प्रधानमन्त्रीका निम्ति थापालाई कोइरालाले मुखौटा बनाएर जान सक्ने लख काट्न थालिएको छ। यद्यपि, अझै यो सम्बन्ध कस्तो रहला भन्ने अड्कल गर्न मुस्किल रहेको नेताहरू बताउँछन्।