बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

सोमबार, जेष्ठ १९ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ असन डेरा गरी बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका–३ घर भएका २८ वर्षीय प्रदिप राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ यरीचोकस्थित जयलक्ष्मी फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त फार्मेसीका संचालक सोही ठाउँ बस्ने ५४ वर्षीय रमेश बहादुर शाही, २५ वर्षीय हिक्मत जंग शाही र वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २५ वर्षीय प्रलाद अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले रमेशले संचालन गरेको जयलक्ष्मी फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २८ वर्षीय सुशान राई र धनकुटा शहिदभूमी गाउँपालिका–२ घर भएका ३२ वर्षीय कुशुम राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामा दैजीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही नगरपालिका–४ बस्ने २३ वर्षीय विनोद सार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको कालिका नगरपालिका–६ क्लब चोकबाट नियन्त्रित लागूऔषध आईपिएल १६ पिस, फेनारगन ६ एम्पुल र डाईजेपाम ५ एम्पुल सहित सोही ठाउँ बस्ने २५ वर्षीय अमृत बोम्जनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोलेसीमलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित प्याराडाईज होटलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ६ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला गुठिचौर गाउँपालिका–४ प्याकुरेलवाडा बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोट बारेकोट गाउँपालिका–३ मुल्साम बस्ने ३२ वर्षीय भक्त बहादुर शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त होटलको १०५ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने रोल्पा थवाङ गाउँपालिका–१ थवाङ घर भएकी ६३ वर्षीया माया देवी विकलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ८ सय २० ग्राम, चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम र नगद ९ हजार ३ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।