बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने बारा कोल्हवी नगरपालिका–२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन्।

पक्राउ मध्ये शन्त कुमारले लाटभिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शन्त कुमारलाई काठमाडौं महानगरपालिका–११ बाट आइतबार र विष्णुराजलाई काठमाडौं महानगरपालिका–११ बाट शुक्रबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।