काठमाडौं।ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जसले ट्रम्प प्रशासन र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयबीचको द्वन्द्वलाई झनै चर्काएको छ ।
ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरेको छ । सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण उक्त प्रतिष्ठित संस्थालाई कडा कारवाही स्वरुप सो निर्णय गरेको हो ।
यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न सक्दैन र हाल अध्ययनरत विदेशी विद्यार्थीहरूले अन्यत्र सर्नु वा आफ्नो कानुनी हैसियत गुमाउनु पर्ने अमेरिकी गृह सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हार्भर्ड र ट्रम्प प्रशासनबीच महिनौँदेखि द्वन्द्व चलिरहेको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।
यस निर्णयको असर हार्भर्डको अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये करिब एक चौथाइमा पर्ने समाचारमा उल्लेख गरिएको छ । यो निर्णयको घोषणापछि विद्यार्थीहरुलमा अत्यधिक तनाव र अन्योल छाएको छ ।