काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाली कांग्रेसको बैठकमा रुवाबासी चलेको छ।
नयाँ बजेटलगायत समसामयिक विषयमा छलफलका लागि बोलाएको बैठक आँसु, एमाले र प्रधानमन्त्री ओलीप्रतिको अविश्वास र पार्टी नेतृत्वसँगको आक्रोशपूर्ण माहोलमा बितेको थियो।
केही दिनअघि पक्राउ परेर धरौटीमा छुटेकी सांसद माया राई बैठकस्थलमा धरधरी रोएपछि सांसदहरू स्तब्ध बनेका थिए। उनले आफूमाथि षड्यन्त्र भएको भन्दै रुँदैरुँदै व्यथा पोख्दा अर्की सांसद मञ्जु खाण पनि रोएकी थिइन्।
ओलीले कांग्रेसभित्रकै सांसदलाई गुपचुप आफ्नो इसारामा चलाइरहेको केहीले जिकिरसमेत गरेका छन् । एमाले कांग्रेसको प्रमुख प्रतिस्पर्धी भएकाले सहकार्य घातक हुनसक्ने भन्दै नेतृत्वलाई झक्झक्याएका छन्।
केही दिनअघिसांसद माया राई पक्राउ परी छुटेकी थिइन्। उनी बैठकस्थलमा धरधरी रोएपछि सांसदहरू स्तब्ध बनेका थिए। उनले आफूमाथि षड्यन्त्र भएको भन्दै रुँदैरुँदै व्यथा पोख्दा अर्की सांसद मञ्जु खाण पनि रोएकी थिइन्।
मैले सुत्केरी अवस्थामा ओम अस्पतालको बेडबाट उठेर आएर पनि संसदीय दलमा शेरबहादुर देउवालाई भोट हाले पनि अहिले गठबन्धनको अर्को दलले निशानामा पारेको भनी उनी रोएकी थिइन्।
उनलाई सहकारी प्रकरणमा पक्राउ गरिएको थियो। तर धरौटीमा छुटेकी छन्।
केही सांसदले गठबन्धनमा पार्टीको हैसियतअनुसारको कुरा नसुनिएको भन्दै प्रधानमन्त्री ओलीमाथि विश्वास नगर्न देउवालाई सुझाव दिएका थिए।
सरिता प्रसाईँ, शंकर भण्डारी, हृदयराम थानीहरूले पनि बैठकमा कुरा राखेका थिए। कान्छाराम तामाङले आफूलाई अपमानजनक ढंगले हटाइएको भन्दै आवेग पोखेका थिए। सांसदहरुका यस्ता गतिविधि देखेपछि सभापति देउवा गम्भिर देखिएका थिए। उनले यस विषयमा ओलीसँग कुरा गर्ने समेत बताएका थिए।
यता, कांग्रेसलाई गठबन्धनमा चोटैचोट लागेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग हात झिकेर एमालेसँग सहकार्य अघि बढेको थियो। कांग्रेसले आलोपालोको पहिलो प्रधानमन्त्रीमा ओलीलाई साथ दिएको छ। तर, यो सरकारमा विभिन्न प्रकरणमा कांग्रेसले मात्र चोटपटक व्यहोरेको संसदीय दलको बैठकमा शनिबार समीक्षा भयो।
तैपनि सभापति देउवाले यसलाई समान्य लिँदै आफूले पनि विभिन्न समयमा दुख पाएको उदाहरण दिएका थिए।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ। सोही कारण उनी स्वतः सांसद पदबाट निलम्बित भए।
तर संसदीय दलको बैठकमा सहभागी भएर एमालेले टार्गेट गरेको गुनासो गर्दा सभापति देउवाले भने,‘मलाई पनि शाही आयोगले पक्राउ गरेको थियो। केही पनि हुँदैन। मुद्दा तुहिएर जान्छ।’
जबकि टेरामक्स प्रकरणमा तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको पनि बयान लिइएको थियो। बास्कोटा एमाले भएका कारण नै जोगाइएको बस्नेतको ठहर थियो।
सहकारी प्रकरणमा पक्राउ गरिएपछि धरौटीमा रिहा भएकी माया राई त धरधरी रोइन्। उनले रुँदैरुँदै सभापति देउवालाई गुनासो पोखेकी थिइन्। उनका साथमा मञ्जु खाँण पनि आँसु झार्नेमा परिन्। राईले भनिन्,‘गठबन्धनमा रहेर पनि एमालेले हामीलाई छानीछानी कारबाहीको प्रक्रियामा लगेको हो, यसमा षडयन्त्र मात्र छ।’
सहकारी प्रकरणमा नै लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जलाको नाम मुछिएको थियो। ऋषिकेश एमालेका नेता भएका कारण नै जोगाइएको मायाको गुनासो रहेको स्रोतले जनाएको छ।
त्यसो त उर्जाराज्यमन्त्री कान्छाराम तामाङ पनि आवेशमा आएर आफूलाई प्रधानमन्त्री ओलीले नियोजित रुपमा बर्खास्त गर्दा पार्टीले केही नबोलेको बताएका थिए। यति मात्र होइन पार्टीले भनेको स्थितिमा आफूले राजीनामा नै गरिदिने बताएका उनले अपमानित ढङ्गले बर्खास्त गर्दा समेत बचाऊ नगरेको आरोप लगाएका थिए।
उनको भनाईमा भने सभापति देउवा मौन रहेको बैठकमा सहभागीले जानकारी दिए। सोही क्रममा मोहनबहादुर बस्नेतले थपेका थिए,‘कम्युनिस्टको बिरोधी भएका कारणले नै मलगायत कांग्रेसका अन्य नेतामाथि टार्गेट गरिएको छ।’