बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आन्दोलनको तयारीमा राजावादी, आईजीको अर्को निर्देशन

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं । जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्ने तयारीका लागि राजावादी शक्तिले बहस सुरु गरेका छन्।

नवराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र पार्दै लगेको छ। आन्दोलनलाई बढीभन्दा बढी जनसहभागितालाई मध्यनजर गरिने उपत्यका जनजागरण अभियान संचालन गर्ने समेत निर्णय गरेको छ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान सुरु गर्ने भएको छ। काठमाडौंको साँखुबाट सुरु हुने अभियान काठमाडौंको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बीपी), राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान, शिव सेना नेपाल, नेपालका लागि नेपाली, शिव सेना नेपाल, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दु महासंघ लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

यसैगरी जनआन्दोलनको आबश्यकता, औचित्य र महत्त्वको बारेमा जेठ ६ गते विभिन्न क्षेत्रका प्रबुद्ध वर्गसँग अन्तरक्रिया कार्यक्रम तय गरि तयारी भैरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। ‘शीर्ष नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुन्छ’, उनले भने।

यता त्यहि आन्दोलनमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर बलियोगरी प्रहरी परिचालनका लागि महानिरिक्षक (आईजी) दीपक थापाले निर्देशन दिएका छन्।

उपत्यका प्रहरी कार्यालयलाई उनले निर्देशन दिएका हुन्। चैत १५ को जस्तो हिंसात्मक हुन नदिनका लागि बलियोगरी उपयुक्त संख्यामा प्रहरी परिचालन गरी क्षति हुन नदिनका लागि निर्देशन दिएका थिए।

‘आन्दोलनका नाममा गैरकानुनी गतिविधि हुन सक्छन्, त्यसलाई नियन्त्रण गर्न आवश्यक हुन्छ’, उनले भने,‘विशेष ध्यान दिनुहोला।’