सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

हो आदेश सरकारलाई हो, र शिक्षक नेताहरुको हठका विरुद्धमा पनि हो : महासचिव पोखरेल

शुक्रबार, बैशाख १२ २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्चको निर्देशनात्मक आदेश शिक्षकको हठ विरुद्धमा रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले शिक्षकहरूसँग अनौपचारिक रुपमा भएका सहमतिलाई औपचारिकता दिएर विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्छौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा हो ।’

अदालतको आदेशपछि सरकारलाई आदेश कार्यान्वयन गर्नुपर्ने वाध्यता उत्पन्न भएको उल्लेख गर्दै उनले उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु भन्ने रहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

विभिन्न माग राख्दै शिक्षकहरुले तीन साताभन्दा बढी समयदेखि काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

यसैबीच सर्वोच्च अदालतले विद्यालय बन्द नगर्न बाध्यकारी आदेश दिएको छ । बिहिबार न्यायाधीश नहकुल सुवेदीले यस्तो आदेश दिएका हुन् ।

अदालतले आन्दोलनरत शिक्षकहरुका जायज मागलाई सरकारले पूरा गरी ३ दिनभित्र विद्यालय फर्किने वातावरण तयार गर्न आदेश दिएको हो । त्यस्तै, तोकिएकै समयमा परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न समेत आदेश जारी भएको छ ।