बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रघुजीलाई शिक्षामन्त्रीको जिम्मेवारी, राज्यमन्त्री तामाङ बर्खास्त

बिहिबार, बैशाख ११ २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त भएका छन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।

नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् । उनी हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा छन् । उनको पद तथा गोपनीयताको सपथ आज हुने बताइएको छ ।

यता ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई भने पदमुक्त गरिएको छ । उनी नेपाली कांग्रेसबाट राज्यमन्त्री बनेका थिए ।

रामेछाप निवासी तामाङ विभिन्न विषयमा विवादित छन् ।

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।

निर्माण व्यवसायी तामाङ कान्छाराम कन्स्ट्रक्सनका मालिक हुन् । देशका विभिन्न परियोजना अलपत्र पारेको उनको कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

यस्तै, सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उनले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए । आफ्नो अधिकार बाहिर गएर उनले सचिवलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोध्ने अधिकार राज्यमन्त्रीलाई हुँदैन ।

मुख्यसचिवले मात्रै सचिवलाई स्पष्टीकरण सोध्नसक्ने व्यवस्था कानूनमा छ ।