बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काश्मिरमा मारिएका सुदीपको शव रुपन्देही ल्याइयो

बिहिबार, बैशाख ११ २०८२

रुपन्देही । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ ।

आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीपको शव नेपाल ल्याउन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहल गरेकी थिइन् ।

मंगलबार काश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो ।

मन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्मासँग हिजो बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन् । मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए ।

सो समन्वयपछि हिजो साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा तथा लखनउबाट नेपालको सीमासम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो ।

घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो ।

सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए ।

उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन् ।