सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

गैरकानुनी सम्पत्ति आर्जनमा अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, बैशाख ९ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला आयुक्तको कार्यालय काठमाडौंअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो । आयोगले यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवले २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको जाँच अवधिमा तलबी पारिश्रमिक, आय, भत्ता, नागरिक लगानी कोेषबाट फिर्ता आएको रकम, आवास कर्जा लगायतका कुल वैध आम्दानी दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा देखिएको छ । तर, सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारीसाधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल पाँच करोड ७१ लाख ६६ हजार तीन रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको छ ।

निजको आयभन्दा व्यय अत्यधिक भएको र सो गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति भएको पुष्टि भएको आयोगले जनाएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उनकी श्रीमती अमृताकुमारी यादवलाई पनि प्रतिवादी बनाएको छ । यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नो श्रीमती अमृताको नाममा राखेको पाइएपछि उनकी श्रीमतीलाई पनि प्रतिवादी कायम गरिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमती यादवलाई समेत प्रतिवादी कायम गरी सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।