कालीकोट । कालीकोटको पलाँता गाउँपालिका-९ थिर्पूदेखि खाद्यान्न बोकेर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, दुर्घटनामा परी ज्यान गुमाउनेमा पलाँता गाउँपालिका-५ की ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ की ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रबिन्द्र विश्वकर्मा, र ट्याक्टर चालक मुगु खत्याडका चन्द्रप्रकाश रोकाया रहेका छन् ।
दुर्घटना आइतवार राति करिब ११:३० बजे पलाँता-९ थिर्पूबाट खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता-२ स्थित लार्फ गाउँ नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमै चालकसहित चार जनाको ज्यान गएको हो ।
स्थानीयका अनुसार ट्याक्टर झन्डै २०० मिटर तल खसेको छ । ट्याक्टर गहिरो खोंचमा खसे छ ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।