काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मध्यावधि निर्वाचन माग्न सुझाव दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्ट्याटस लेख्दै ज्ञवालीले ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, भन्ने प्रचण्डलाई हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी गर्नुभन्दा बलियो हुँदाहुँदै सरकार ढाल्नु भन्दा मध्यावधिमा जान ज्ञवालीले सुझाएका हुन् ।
प्रचण्डले एमाले–कांग्रेस सहकार्यलाई दुई तिहाईको होइन, ‘षडयन्त्रको सरकार’ भन्न भ्याएको बताउँदै २०७४ सालमा कांग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो भन्दै कटाक्ष गरेका छन्।
ज्ञवालीले भनेका छन्, ‘उहाँले एमाले– काँग्रेस सहकार्यलाई दुई तिहाईको होइन, ’षडयन्त्रको सरकार’ भन्न भ्याउनु भएछ । हो नि सर, २०७४ सालमा नेपाली काँग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली काँग्रेसलाई सत्तामा पुर् याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँच दलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘सङ्गतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीन पटक सत्ता– सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो । किनभने त्यहाँ ‘पारसमणि’ का रुपमा यहाँ हुनुहुन्थ्यो, सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि !’
‘हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन्। यसलाई असाध्यै धेरै सैद्धान्तिकरण गर्नु वाञ्छनीय हुँदैन। निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोसिस गर्छन्,’ उनले भनेका छन्, ‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले ‘अर्लि चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन्।’