सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

किन दिइन् सुमनाले सहमहामन्त्रीबाट राजीनामा ?

कोशीका निर्वतमान इन्चार्ज भण्डारीले पनि गरे जिम्मेवारीबाट अलग भएको घोषणा

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । पार्टीका कतिपय विधि र प्रक्रियासँग असन्तुष्टि राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् । एक व्यक्ति एक पदको अवधारणाअनुसार आफू प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेर काम गर्ने उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । तर पनि उनले राजीनामा पत्रमा पार्टीको विधि, प्रक्रिया र निर्णयमा असन्तुष्टि राखेकी छन् ।

उनले पार्टीमा पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय हुनेगरेको, उक्त निर्णय आधिकारिक स्रोतबाट नभएर अरु कसैबाट थाहा पाउनुपरेको उल्लेख गरेकी छन् । पार्टीभित्रको यस प्रकारको गतिविधिले पदको कुनै वजन नै नभएको महशुस गराएको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

‘पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारीक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ,’– उनले राजीनामा पत्रमा भनेकी छन् ।

यस्तै रास्वपा कोशी प्रदेशका निवर्तमान इन्चार्ज एवं संगठन विभाग सदस्य ओमनाथ भण्डारी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

आफूलाई सोध्दै नसोधी प्रदेश इन्चार्जबाट हटाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै भण्डारीले आफू सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

‘मसँग सामान्य सरसल्लाह पनि नगरी पार्टीका अर्का साथीलाई आजको केन्द्रीय समितिको बैठकले प्रदेश इन्चार्ज तोकेकोमा म दुस्खी छु’, उनले पत्रमा उल्लेख गरेका छन्, ‘यदि, म सँग सल्लाह मात्र गरिएको भए पनि म सहर्ष स्वीकार गर्ने थिएँ, । बरु उहाँको प्रस्तावक पनि बनिदिने थिएँ ।’

कार्यवाहक सभापति डीपी अर्याललाई राजीनामा पत्र पठाउँदै भण्डारीले अब आफू साधारण सदस्य मात्रै रहने उल्लेख गरेका छन् ।