सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

उच्चस्तरीय संयन्त्रको बैठकमा खड्का र थापा किन गएनन् ?

बिहिबार, बैशाख ४ २०८२

काठमाडौँ । सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बुधबार कांग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित भएका छन् ।

संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संयन्त्र सदस्य तथा कांग्रेस महामन्त्री गगन थापा अनुपस्थित भएपछि बुधबारको बैठक औपचारिकतामा सिमित हुन पुगेको हो ।

उपसभापति खड्का यसअघिका सबै बैठकमा सहभागी हुँदै आएका थिए । तर, स्वास्थ्य अवस्थाका कारण हिजो उनी सहभागी नभएकाे भनिएपनि महामन्त्री थापा भने बारामा पार्टीको कार्यक्रममा सहभागी भएका थिए । बैठक सुरु हुनु अगावै उनी राजधानी आइपुगेपनि उनी सहभागी भएनन् ।  पछिल्लो समय गगनले सरकारको विषयमा खुलेर आलोचना गरेका छन् ।

उनले हिजोमात्रै सरकारको गति एकदमै सुस्ताएको भनेर आलोचना गरेका थिए ।

महामन्त्री थापाले केही दिनअघि चैत २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरेका थिए । सरकारले राम्रो काम गरोस् भनेर आफूहरुले सहयोग गरिरहेको बताउँदै उनले “बिँड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ” भन्दै आलोचना समेत गरेका थिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि हिजो सरकारबारे ७ बुँदामा आफ्नो असहमति राखेका थिए । हिजो बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा आँफै सहभागी थिए । उनी पत्नी डा आरजु राणा र नेता रमेश लेखक लिएर बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु इश्वर पोखरेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी थिए ।

सरकारको कामकारवाहीलाई लिएर महामन्त्री गगनथापालगायतका कांग्रेस नेताले गरिरहेको टिप्पणीबारे पत्रकारको जिज्ञासामा बैठक पछि गृहमन्त्री रमेश लेखकले तथ्य-तथ्यांकमा हेर्न सुझाव दिए ।

बैठकपछि लेखकले पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको जिकिर गरे । सरकारको सेवा प्रवाहमा पनि सुधार भएको उनको भनाइ थियो ।

‘नेताहरू आ-आफ्नो ढंगले बोल्नुहुन्छ त्यसमा टिप्पणी मेरो केही छैन । पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको छ । सेवा प्रवाहमा पनि सुधार भएको छ’, लेखकले भने, ‘परिणामले देखाएको छ- राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर हुँदैन ।’

बैठकमा सरकारका कामकारवाही र सरकारबारे बाहिर चलेका चर्चाबारे छलफल भएको बताइएको छ । सरकारका काम र कार्यशैलीबारे सत्तासाझेदार दल नेपाली कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै बिरोध गर्दै आउनु भएको बेला कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो ।