सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सरकारको चाहेअनुसारको स्पिड नहुँदा अपेक्षा मुताविक काम हुन सकेन : गगन थापा

अवस्था बदलिन नेताको शैली बदलिन आवश्यक

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिन नसकेको उनले जिकिर गरे। सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवद्र्धन लगायतका विषयहरुमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताए ।

महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गरे ।
उनले भने, …. देशलाई कंकर्डको स्पिड चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहोल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर । सरकार ट्याक्टरको स्पिडमा छ । मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन । गति नै पक्रन सकेन ।’

थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको आरोपसमेत लगाए ।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने पनि बताए । उनले नेतृत्वका कारण नागरिकको अवस्था नबदलिएको जिकिर गरे।

उनले भने,   ‘…हामीले व्यवस्था बदल्यौँ तर अवस्था के कारणले बदलिरहेको छैन भने नेताको शैलीको कारणले गर्दा बदलिएको छैन । अवस्था बदलिने कुराको अवरोध नेतृत्व हो । नेता भनेर कुनै अमुक भनेको छैन, म पनि त्यसभित्र पर्दछु । नेतृत्वको शैली हो । नेतृत्वको शैली बदल्ने हो । नेतृत्वको शैली बदल्न, सम्झाएर बुझाएर अहिलेको शैली बदल्नसके त्यो बदल्ने हो । सम्झाएर बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्ने हो । समस्या नेतामा छ । नेता बदल्दा समस्या समाधान हुन्छ भने त्यो भन्दा अर्को कुरा बदल्नुपर्छ की भनेर भन्नेकुराले निकास आउँदैन ।’

उनले गुड गभर्नेन्सको कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्नेकुरामा पनि काँग्रेस सचेत रहेको बताए ।