सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गर्ने तयारी

शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको उनलाई जहाजबाट काठमाडौं ल्याएको हो।

भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।

विमानस्थल ल्याउनुअघि प्रसाईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो। उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ ।

उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

उनलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिने र उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधमा म्याद थप्ने तयारी रहेकाे छ ।

शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए ।

प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएकाे थियाे ।

आन्दोलनकारीले दर्जनौं घर र सवारी साधान तोडफोड र आगजनी गरेका थिए ।