काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच विहीबार छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उनीहरुबीच छलफल भएको हो ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले हिजो प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताए। “ हामीले छलफल प्रारम्भ गरेका छौँ । उहाँहरुको चासो, सरोकारका बिषयमा छलफल भयो,” उनले भने, “छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ ।”
प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको बताए । छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डा दीपक काफ्ले, शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीलगायतको टोली सहभागी थियो ।
शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौँमा सडक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा देशभरिका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ ।
शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो ।
तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।