काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयोजक प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेका हुन् ।
विज्ञप्तिमा भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित प्रसाईंले नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि असामको गुहावटीबाट नेपालको सीमासम्म ल्याइपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरिएको छ ।
‘सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कंदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएकाे छ, ‘उहाँ क्यान्सरको विरामी र अदालतको तारिकमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रुपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकार समक्ष समेत अनुरोध गर्दछौं ।’

प्रसाईं विहीबार भारतको आसाममा पक्राउ परेको समाचार आइरहेका बेला नेपाल प्रहरीले भने प्रसाईँ हालसम्म पक्राउ नपरेको जनाएको छ ।
नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध समेत गरेका छन् ।