काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश जारी गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले आफू नभागेको समेत दाबी गरेका छन् । ‘म भागेको होइन । यो केसमा म जोगिएको मात्रै हो । किनभने म रहेँ भने यो अभियान सफल हुन्छ । यो जनविद्रोह सफल हुन्छ । म नै रहिँन भने यो जनविद्रोह यत्तिकै गवाएर जान्छ । म पेरुको गोन्जालो बन्न चाहन्नँ ।’ उनले भनेका छन् ।
फरार प्रसाईंले चैत १५ तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा समेत गरेका छन्।
उनले भनेका छन्,’तीनकुने प्रदर्शनमा दुई जना एक जना पत्रकार सुरेश र सविन महर्जनको मृत्यु भएको छ। उहाँहरुको परिवारलाई पाँच पाँच लाख दिने घोषणा गर्दछु। म बाहिर आएपछि म दिन्छु। जसको गोलीले पनि मान्छे मर्नु हुँदैन थ्यो। सरकारले दिन्छ दिँदैन। तर म दिन्छु ।
उनले आफू नभागेको तर जोगिएको बताउँदै आफू नेपालमै कतै रहेको समेत उल्लेख गरेका छन् । तर, उनले नेपालमै रहेको सावित गर्न भिडियोको पृष्ठभूमिमा एउटा ताल र हिउँले ढाकिएको डाँडाको दृष्य राखेका छन् । तर भिडियोमा बाेलेकाे बेला प्रसाईं मात्र हल्लिन्छन् । न ताल, न त्यो डाँडामा कुनै हलचल देखिन्छ । यसबाट उनले भिडियोको ब्याक ग्राउण्ड एडिट गरेको प्रष्टिन्छ । फोटो एडिटिङ्ग गरेर उनले आफू नेपालमै रहेको जस्तो भान पार्न खोजेपनि ब्याक ग्राउण्डले उनी चिसो स्थानमा हुनुपर्ने तर उनको लुगा लगाइले चिसो होइन गर्मी स्थानमा लुकेर बसेको बुझ्न गाह्रो हुँदैन । उनले गर्मीमा लगाउने प्रकारको लुगा हाफ टिसर्ट लगाएका छन् ।
उनको उक्त भिडियो सार्वजनिक भएसँगै लेखक महेश थापाले सामाजिक सञ्जालबाटै व्यङ्ग्य गरेका छन्।
लेखक थापाले दुर्गा प्रसाईंको उक्त भिडियो बारे ‘आफू नभागेको, बरू कुले ठोकेको’ भन्दै लेखेका छन्-
“आफू नभागेको, बरू कुले ठोकेको” भन्दै दुर्गा प्रसाईंले एउटा भिडियो रिलिज गरेका रहेछन् । नेपालमै रहेको सावित गर्न भिडियोको पृष्ठभूमिमा उनले एउटा ताल र हिउँले ढाकिएको डाँडाको दृष्य राखेका छन् । तर भिडियोमा दुर्गा प्रसाईं मात्र हल्लिन्छन् । न तालको पानी हल्लिन्छ, न त्यो डाँडामा कुनै हलचल देखिन्छ । उठ्दै गरेको बादल पनि मने टक्क अडिएको छ । भिडियोको पृष्ठभूमिमा स्थिर फोटो चिपकाइदिएको प्रष्टै गोचर हुन्छ । बरू दुर्गा प्रसाईं हल्लिएको बेला एउटा लौरोजस्तो जिनिस तुर्लुङ्गिएको देखिन्छ । थोरै मात्र फोटो एडिटिङ्ग गरेको जोकोहीले बुझ्दछ कि त्यो फोटोको ब्याकग्राउन्ड रिमुभ गर्दा वा कुनै पोर्सन इरेज गर्दा छुटेको भाग हो भन्ने । “म जत्तिको लैबरीलाई समर्थन गर्नेहरूको आईक्यू कति नै हुन्छ ? जे भन्दे नि हुइयाँ गरि त हाल्छन्” भनेरै यति अलबेस्रोसँग एडिट गरेको भिडियो अपलोड गर्ने ह्याउ गरेको हुनुपर्छ । यत्ति दुःख बेसाइसकेसि आफ्नै घरमा बसेको दृष्य हाल्द्या भे’ के जान्थ्यो ? हन यो भिडियो एडिट गर्ने बुद्धिमान गँगटो ज्ञानेन्द्र शाही नै हो कि क्याहो ![]()