सामान्य प्रक्रिया पूरा नगरी लामिछानेलाई धरपकड गरेको आरोप
काठमाडौं । सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा सामान्य प्रक्रिया पनि पूरा नगरी धरपकड गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा आज राष्ट्रिय मानव अधिकार आयोग गएको छ ।
लामिछानेको पक्राउ गैरकानुनी भएको र पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको रास्वपाको दावी छ ।
आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए ।
उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यही चैत २२ गते थुनामै राख्न आदेश दिएपछि सभापति लामिछाने काठमाडौँस्थित निवासबाट पक्राउ परेका थिए।
जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।