काठमाडौं । पूर्वी तराईका जिल्लाहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायतका जिल्लामा वर्षा भएको हो ।
नेपालमा वर्षा नहुँदा प्रदुषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्नेलगायतका समस्याहरु देखिइरहेका छन् ।
ठूलो पानी परेसँगै काठमाडौं उपत्यकालगायत प्रदुषण बढी भएका शहरहरुबाट प्रदुषण हट्ने बताइएको छ ।
काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदुषण उच्च भएको शहर विश्वकै पहिलो स्थानमा रहेको छ ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ ।