काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी छ ।
राप्रपाको प्रदर्शन शान्तिपूर्ण नहुन सक्ने बुझाइकै साथ स्थानीय प्रशासनले पार्टीले माग गरेको भृकुटीमण्डपमा कार्यक्रम गर्न दिएको थिएन। सुरक्षा संवेदनशीलता देखाउँदै आइतबार प्रशासनले सिफल वा बल्खु क्षेत्रमा प्रदर्शन गर्न भनेको थियो ।
भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मै प्रशासनलाई इमेल पठाएको थियो । सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू) पनि भइरहेकाले अनुमति दिन नसकिएको प्रशासनको भनाइ थियो ।
मंगलबारको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन समेत गरेका थिए ।
राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिने पार्टी प्रवक्ता श्रेष्ठले बताए ।
राप्रपाले उठाएको मुद्दा कुनै एउटा पार्टीको मुद्दा मात्र होइन देश बचाउने र बनाउने नेपालीको साझा मुद्दा भएको बताउँदै अध्यक्ष लिङदेनले ऐक्यवद्धता व्यक्त गर्दै आज बल्खुमा आउन सबै शुभचिन्तकदेखि विभिन्न दललाई समेत आग्रह गरेका छन् ।
हिजो राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैटकले बल्खुमा हुने बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभाको अन्तिम तयारी र विविध पक्षबारे छलफल भएको थियो। बैठकले उपत्यकाबासी, समान विचार र उद्धेश्य भएका विभिन्न दल, संघसंस्था, अभियान र पार्टीको हरेक तह, तप्कालाई सक्रिय सहभागीताका लागि अपील गरेको छ। प्रदर्शनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्ने, व्यापक स्वयंसेवक परिचालन र प्रभावकारी अनुगमन गरिने बैठकले निर्णय गरेको छ ।