सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर

आइतबार, चैत्र २४ २०८१

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अस्वस्थकर रहँदै आएको छ ।आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।

काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु केही दिनअघि विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर दोस्रोमा कायम भएको छ ।

अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।

वायु प्रदूषणमा भारतको राजधानी दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० मापन भएको छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।