सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड पराजुली सम्मानित, ५ लाख नगदसहित पाँच ग्रेड बढुवा

बुधबार, चैत्र २० २०८१

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।

उनलाई आज एक कार्यक्रमबीच सम्मान प्रदान गरिएको हो ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पराजुलीलाई दुबोको माला लगाइदिएर सम्मान गरेका छन् । साथै उनलाई ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवासहित सम्मान गरिएको हो ।

शुक्रबार भएको राजावादी आन्दोलनका केही व्यक्तिहरु कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा जवरजस्ति प्रवेश गरी तोडफोड गर्नुका साथै लुटपाट मच्चाएका थिए । उनीहरुलाई सुरक्षा गार्ड पराजुलीले लिस्टीले हिर्काउँदै लखेटेका थिए ।

लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ संख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियो देख्न सकिन्छ ।

पराजुली २२ वर्षदेखि भाटभटेनीमा सुरक्षा गार्डको काम गर्दै आएका छन् ।

उनै पराजुलीसहित अन्य तीन सुरक्षा गार्डलाई पनि सम्मानसहित बढुवा गरिएको छ । अन्यमा सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको हो ।

उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ ।