बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दुर्गा प्रसाईं खोजेको खोजै प्रहरी

बुधबार, चैत्र २० २०८१

काठमाडौं । गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईं अझैसम्म पक्राउ पर्न सकेका छैनन् । प्रहरीका चार वटा टोलीले खोजी गरिरहेपनि उनलाई फेला पार्न सकेका छैनन्।

राजा फर्काउने आन्दोलन गरिरहेका प्रसाईं फरार रहँदा उनका सहयोगीहरू भने धमाधम पक्राउ परिरहेका छन्।

आइतबार र सोमबार उनले सामाजिक सञ्जालबाट आफू नेपालमै रहेको भन्दै सुरक्षा निकायलाई चुनौती दिइरहेका छन्।

उनले आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै काठमाडौंको एक मन्दिरमा छु भनेपनि तर उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेको खबर सुरक्षा निकायमा छ। मोटरसाइकलमा चढेर हेटौंडा हुँदै भारत पुगेको र नेपालकै मन्दिरमा छु भनेर बनाएको भिडियो पनि भारतकै एक मन्दिर भएको प्रहरीको आशंका छ ।

प्रसाईंको खोजीमा रहेका एक प्रहरीका अनुसार उनको अन्तिम लोकेशन इमाडोलमा ट्रयाक भएको थियो। त्यसपछि उनको फोन स्वीच अफ छ । प्रसाईंको खोजीमा रहेका एक प्रहरीका अनुसार उनको अन्तिम ‘लोकेसन’ इमाडोलमा देखिएको थियो। इमाडोलबाट एउटा ट्याक्सी लिएर हिँडेका उनी त्यहाँबाट कता गए भन्ने बारेमा थाहा हुन सकेको छैन। इमाडोलमा पुष्कर खतिवडाको घरमा स्याउ र केरा खाएर प्रसाईं फरार भएका थिए।

शुक्रबार निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरूलाई आउन नदिनका लागि तैनाथ भएको प्रहरीलाई नै किचुँला झै गरी आमचकारी गाली गर्दै प्रसाईंले गाडी हुइँकाएका थिए । प्रहरीलाई छक्याउँदै आफ्ना सहयोगीको सुरक्षामा केही समय उनी तीनकुनेकै एक सटर भित्र उनी लुकेर बसेका थिए । त्यसपछि प्रहरीको आँखा छल्दै गाडी चडेर उनी भागेका थिए ।

यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), विशेष ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको ‘टास्क फोर्स’ले उनको खोजी गरिरहेका छन्। सबै नाकामा प्रहरी परिचालन पनि गरिएको छ।  प्रहरीको एउटा युनिटले प्रसाईंलाई खोज्न भारतीय प्रहरीसँग समन्वयसमेत गर्दै आएको छ।

मंगलबार साँझ मात्रै प्रसाईंका एक सहयोगी पक्राउ परेका छन्। संयुक्त जनआन्दोलन घोषणासभा परिचालन समितिका संयोजक देवी संग्रौला पक्राउ परेका हुन्। झापाका संग्रौलालाई प्रहरीको विशेष टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। उनीसँगै विष्णुजंग बस्नेत पनि पक्राउ परेको प्रहरीले जनाएको छ। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संग्रौला पनि संलग्न थिए। यसअघि प्रसाईंको सुरक्षा दस्ताका चार जना पक्राउ परिसकेका छन्।

आइतबार साँझ प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका थिए।

प्रसाईं भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही शुक्रबार राति नै पक्राउ गरेको थियो।

मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ। आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ। उनीहरूसहित पक्राउ परेका ४१ जनालाई पनि थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको अनुमति दिएको छ।

राजावादीहरूको हिंसात्मक प्रदर्शनमा परी एक पत्रकारसहित  दुई जनाले ज्यान गुमाएका छन्। प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का सविन महर्जन र राजावादी समर्थकबाट भएको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको छ। केही प्रदर्शनकारी र  ११० जना सुरक्षाकर्मी घाइते भएका थिए भने १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए।

प्रदर्शनकारीले तीनकुने, बानेश्वर, कोटेश्वर, बालकुमारी क्षेत्रमा निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका थिए।