प्रधानमन्त्री ओलीको दबाब रहेको बताए पनि त्रिविको आर्थिक भार थेग्न नसकेपछि राजीनामा
काठमाडौं । १३ महिनामा नै त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट राजीनामा दिएका प्राडा केशरजङ्ग बराललाई प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएको दाबी गरिन्छ।
खासगरी नेकपा माओवादी केन्द्रले यस्तो दाबी गरे पनि उनको राजीनामामा अनेक कारण रहेको बताइन्छ।
त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन्।
गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए। प्रचण्डको जोडबलमा उपकुलपति बनेको भन्दै उनीमाथि सुरुदेखि नै प्रश्न उठेको थियो।
खुला प्रतिस्पर्धाबाट उपकुलपतिको नाम छनोट गर्दा बराल दोस्रो नम्बरमा थिए। तर, तत्कालीन प्रधानमन्त्री प्रचण्डको चाहनामा उनी उपकुलपतिमा नियुक्त भएका थिए।
उपकुलपतिको कार्यालय ४ वर्षको हो तर एक वर्षमै राजीनामा दिएर बराल पोखरा फर्किएका छन्। पोखरा जानुअघि उनले प्रचण्डलाई भेटेर आफूले राजीनामा दिने बताएका थिए।
माओवादी निकट नेपाल प्राध्यापक संगठनका एक पदाधिकारीका अनुसार प्रचण्डले राजीनामा नदिन र मिलाएर काम गर्न बराललाई भनेका थिए। तर, बरालले करार शिक्षक कर्मचारीलाई स्थायी र आंशिकलाई करार बनाएर कालो धब्बा नबोक्ने बताएका थिए।
करिब ४०० करार प्राध्यापक र कर्मचारीले स्थायी गर्न र एक हजार अंशिकले स्वतः करार गर्न दबाब दिएका हुन्। विशेष आन्तरिक खुला प्रतियोगिताको आधारमा प्राध्यापक र कर्मचारीले स्थायी र करार बनाउन भनेका हुन्। तर, सर्वोच्च अदालतले त्यो व्यवस्था खारेज गरेपछि बराल दबाबमा परेका हुन्।
कर्मचारीले समस्यासँग लड्न सुझाव पनि दिएका थिए। तर बरालले बारम्बार कालो धब्बा नबोक्ने भनिरहे। त्रिवि स्रोतका अनुसार उनले राजीनामाको कारण भने स्वास्थ्यलाई देखाएको बुझिएको छ। राजीनामा बारे बराल बोलेका छैनन्।