सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले कुलमान हटाउनाको कारणबारे जवाफ दिने

सोमबार, चैत्र १८ २०८१

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । नेपाल  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

कुलमान हटाएकाे विराेधमा यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । उनलाई हटाउनुकाे कारणकाे माग गर्दै उनीहरुले स‌ंसद अवराेध गरेका थिए ।  प्रधानमन्त्रीले संसदमा आएर त्यसकाे चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नदिने उनीहरुकाे अडान छ ।

प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज  जवाफ दिने तयारी गरेका छन् । उनले आज बैठठको सुरुमै सम्बोधन गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रतिनिधि सभाको आजको बैठकमा बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरर्ने,  पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पे; गर्ने,  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पे; गर्नेलगायत कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । उनले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।