बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना-पत्र

आइतबार, चैत्र १७ २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । पत्र लिएर गएको महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको हो ।

पत्र लिएर महानगर प्रहरी बलको टोली आइतबार बिहान साढे १० बजेतिर निर्मल निवास पुगेको थियो ।

शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो। राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो ।

महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको छ ।

यसअघि फागुन २५ गते ज्ञानेन्द्रको स्वागतमा सिनामंगल गौशाला क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रूपैयाँ जरिवाना तिराएको थियो ।