काठमाडौं । बुढानीलकण्ठमा सम्पन्न नेपाली कांग्रेस पदाधिकारी बैठकले शुक्रबार भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिकार देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
उनले पूर्वराजाको आयोजनामा समिति गठन गरेर घटना गराइएकाले यस्को जिम्मेवारी पनि पूर्वराजाले नै लिनुपर्ने बताए। उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने भनिए पनि उनीहरुले तोडफोड र हिंसात्मक गतिविधि गरेर अराजकता सिर्जना गरेको आरोप लगाए। प्रदर्शनकारीले सुनियोजित रुपमा अराजकता सिर्जना गरेर सत्ता कब्जा गर्ने रणनीति लिएको उनले दाबी गरे ।
उनले भने, ‘एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना घटेको छ । सिधै यहाँ यहाँ आक्रमण गर्ने भनेर त्यहाँ घोषणा भएको छ । ठूलो निजी सम्पती र सार्वजनिक सम्पतीको क्षति भएको छ । दुई जना व्यक्तिको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा जस्को आयोजनमा समिति गठन भयो र त्यसले त्यो अयोजना गर्यो, सिधै जुन शान्तिपूर्ण तरिकाबाट प्रश्तुत हुन्छौँ भनेका थिए त्यसको विपरित तोडफोड आगजनी गरेर एउटा असुरक्षा र अराजकताको परिस्थिति निर्माण गर्ने र त्यो परिस्थितिबाट फाइदा उठाउँदै सत्ता कब्जा गर्ने जुन मनसायले जाने उहाँहरुको लक्ष्य देखियो जस्को जिम्मेबारी उहाँले लिनुपर्छ भन्ने बैठकको निस्कर्ष निकालेको छ ।’