काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न अनुरोध गरेका छन्। मेयर राईले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ! काम चाहिँ गर्नु छैन… बात कर्ता है!’
काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरुलाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तिनकुनेमा प्रदर्शनका लागि स्थान छुट्याइएकाे छ । राजावादीले २० लाख मान्छे उतार्ने भनेका छन् भने गणतन्त्रवादीले साेही संख्खामा शक्त्ति प्रदर्शन गर्ने दाबी गरेका छन् ।
राजावादीकाे आन्दाेलनकाे कमाण्डर दुर्गा प्रसाईले गर्दैछन् ।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।