काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन आह्वान गरेका छन् ।
आफूलाई श्रेयको भोक नभएको भन्दै उनले द्वन्द्वपीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए ।
आज नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन ।’’
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताए ।
विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै उनले त्यसमा दुःख व्यक्त गरे ।