बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्ता छन् कुलमान हटाइनुका कारण

न्याय खोज्न अदालत जाने कुलमानको तयारी

बुधबार, चैत्र १३ २०८१

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने भएका छन् ।

आफूमाथि सरकारले अन्याय गरेको भन्दै उनी न्याय खोज्न अदालत जाने भएका हुन् ।

प्रतिशोध साँधेर पदबाट हटाएको भन्दै घिसिङ सरकारको उक्त निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् ।

कुलमानको काम व्यवहारलाई लिएर सरकारले ६ पटकसम्म स्पष्टीकरण सोधेको थियो भने ऊर्जा मन्त्रालयले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको थियो ।

६ पटकसम्म मन्त्रालयस्तरबाट स्पष्टीकरण सोध्दा घिसिङले मन्त्रालयलाई त्यसको अधिकार नरहेको बताएपछि गत फागुन २१ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सफाइ पेस गर्ने मौका दिइएको थियो ।

घिसिङले आफूले कुनै गलत काम नगरेको दाबीसहित सफाइ पेश गरे पनि त्यो चित्तबुझ्दो नभएको भन्दै चैत ११ गतेको मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

कुलमानमाथि संघीय संसद र सरकारविरुद्ध पटक–पटक अभिव्यक्ति दिएको, कर्मचारीहरुबीच गुटबन्दी गराएको, सञ्चालक समितिले गरेका निर्णय कार्यान्वयन नगरेको, मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफका विषयवस्तु सञ्चार माध्यममा सम्प्रेषण गरेको, बिदा वा आन्तरिक वा अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सञ्चालक समितिको स्वीकृति नलिएको लगायतका आरोप छन् ।

यसैगरी डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकले खपत गरेको विद्युत्को बक्यौता रकम (टाइम अफ डे– टीओडीको आधारमा) असुल उपर नगरेको, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर भारतमा विद्युत् व्यापार सम्बन्धी सम्झौता गरेको, भारतमा वार्तामा जानुअघि सञ्चालक समितिबाट निर्णय नगरेको, लगायतका आरोपहरु पनि कुलमानमाथि लगाइएको छ ।

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमानलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले कुलमानलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियाे । शाक्यले मंगलबार पदभारसमेत ग्रहण गरिसकेका छन् ।