काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता काठमाडौं फर्किने भएपछि माओवादीको तराई–मधेस जागरण अभियान फेरि स्थगित हुने भएको छ ।
गत बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको अभियान चितवन पुगेर सोमबारदेखि स्थगित भएको हो ।
गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान यसअघि फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो ।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ । त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको माओवादीका नेताले बताए ।
काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिने बताइएको छ ।
यसैबीच आज तीन ठूला दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताबीच भेटवार्ता हुँदैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तयारी छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक आज बस्न लागेको हो ।
बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरु सक्रिय भएपछि तीन दलका शीर्ष नेताहरुबीच पहिलो पटक छलफल हुन लागेको छ ।