विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।
अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसकेका छन् । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बिहानसम्म विराटनगर पुग्नेछन्।संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाटै र प्रतिनिधिहरूलाई आज र भोलिको लागि आवासको व्यवस्था गरेको छ ।
अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने छन्।महाधिवेशनले चौतारीको नयाँ नेतृत्व चयन गर्नेछ । प्रेस चौतारी नेपालका विभिन्न पदका लागि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् । उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसके चुनाव मार्फत टुंगो लगाइने बताइएको छ ।