काठमाडाै । काठमाडाैं बाजबजारस्थित पद्मकन्या क्याम्पस (पिके) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् ।
नेविसंघले पिकेमा पूर्णिमा परियारलाई उम्मेदवार बनाएको थियो । तर, बागी उम्मेदवारी दिएकी ऐर प्यानलैसहित निर्वाचित भएकी हुन् । सचिवमा ऐर समूहबाटै सन्ध्या बस्यालले र कोषाध्यक्षमा संकल्पिका थापाले निर्वाचित भएका छन् ।
भूपेश्वरीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् ।
सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित निर्वाचित हुँदा कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भइन् ।
सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ मत र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत ल्याए ।
यस्तै सदस्यहरूमा उर्वशी पाण्डे, चेतना महर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, र यानसु कटवला निर्वाचित भएका छन् ।
नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र भएको थियो ।