काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी छन् ।
मध्यबानेश्वर पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सांसद गंगाराम चौधरीले जानकारी दिए ।
उक्त बैठकमा डा सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइएको छ ।
अध्यक्ष श्रेष्ठ र राउतबीच चैत २ गते भेटघाट भएको थियो । भेटमा श्रेष्ठ पनि एकताको पक्षमा रहेको दाबी जनमतले गरेको छ ।
रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् भने उनकी पत्नी रञ्जिता अध्यक्ष हुन् ।
नाउपा संरक्षक रेशम चौधरी र डा राउतबीच पार्टी एकताको विषयमा यस अघि पटक–पटक छलफल भएको थियो । दुवै पक्षका नेताहरुले पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेको र केही दिनमै त्यसको घोषणा हुने जनाएका थिए । तर नाउपा अध्यक्ष रञ्जिता भने पार्टी एकताका विषयमा खुलेर बोलेकी थिइनन् ।
संरक्षक चौधरीले चैत ८ गते बस्ने केन्द्रीय समितिको बैठकले सबै कुराको टुङ्गो लाग्ने बताए पनि उनीहरु श्रीमान् श्रीमतीबीच कुरा मिल्न नसकेकाे बताइएकाे छ ।
रेशमले एउटा भिडियो सन्देश जारी गरेर एकताको सबै प्रक्रिया लगभग टुङ्गिएको र केन्द्रीय समितिको बैठकमा औपचारिक रूपमा छलफल गरी त्यसलाई अन्तिम रुप दिने जनाएका छन् । यद्यपि अध्यक्ष रञ्जिता श्रेष्ठले भने अब बस्ने केन्द्रीय समितिको बैठकमा पार्टी एकताको कुनै एजेन्डा नरहेको दाबी गर्दै आएकी छन् ।
यता पार्टी एकताका लागि जनमत पार्टीले केन्द्रीय समितिबाट निर्णय गर्दै तीन सदस्यीय कार्यदल गठन गरिसकेकाे छ । कार्यदलमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, बालगोविन्द चौधरी छन् ।