बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्ने नवनियुक्त आईजी थापाकाे प्रतिवद्धता

मंगलबार, चैत्र ५ २०८१

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजी) दीपक थापाले प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् ।

गृहसचिव गोकर्णमणि दवाडीबाट मंगलबार बिहान दर्ज्यानी चिन्ह लगाएपछि सम्बोधनका क्रममा थापाले भने,‘संगठनमा सुधार ल्याउने हो, आफैंबाट सुरु गर्छु। मिति तोक्दिन।’

उनले प्रहरी सङ्गठनमा पहुँचको हैन पद्धतिको थिति बसाल्न प्रयास गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्षमताको उचित मूल्याङ्कन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी आफूले काम गर्ने उनले बताए । प्रहरीमा सुधारको लागि साइत नहेर्ने बताउँदै उनले भने,‘सुधारको प्रारम्भ आफूबाटै गर्नेछु ।’

संविधानको मर्म अनुरूप संघीय कानुनको कार्यान्वयन, विधिको शासन र मानव अधिकारको प्रत्याभूति दिलाउन आफूले उच्च मनोबलका साथ निष्ठापूर्वक काम गर्ने उनले बताए ।

सोमबारको मन्त्रिपरिषदको बैठकले थापालाई ३१औं आईजी नियुक्त गरेको हाे।

उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए । ३ जना प्रतिस्पर्धी मध्ये वरियतामा थापा एक नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।