सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा

राप्रपा भित्र आन्तरिक तरङ्ग उत्पन्न

मंगलबार, चैत्र ५ २०८१

काठमाडौं । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पक्षधरहरूले राजसंस्था पुन:स्थापनाका लागि सोमबार एक कार्यक्रम गरी संयुक्त जनआन्दोलन समिति गठन गरेका छन् ।

८६ वर्षीय नवराज सुवेदीको अध्यक्षतामा समिति बनेकाे हाे ।  सुवेदी राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षसमेत हुन्। उनले सबैलाई एक ठाउँ बनाएर राजसंस्था पुन:स्थापना गरिने बताए।

समितिको सदस्य सचिवमा रवीन्द्र मिश्र रहेका छन् भने सदस्यहरूमा पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशर बहादुर बिष्ट र रमा सिंह रहेका छन्।

यसैगरी समितिमा पाँच जना सल्लाहकार समिति पनि गठन गरिएको छ जसको सल्लाहकारमा डा. जगमान गुरुङ्ग, बुद्धिराज बज्राचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज सेडाई रहेका छन्।

‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा भने बेखवर रहे।

समाचार स्रोतका अनुसार निर्मल निवासबाटै लिङदेन र थापालाई वाइपास गरेर सुवेदीको नेतृत्वमा समिति बनाइएका हो ।

जसकाकारण राजतन्त्र पुनर्स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन समिति’ गठन गर्दा राप्रपा पार्टीमा आन्तरिक विरोध उत्पन्न भएको छ।

यस समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, राजेन्द्र लिङ्देन, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत सदस्य छन् ।

यसैबीच लिङ्देन र थापाले आफूलाई यस समिति गठनबारे कुनै जानकारी नभएको भन्दै यस्तो समितिमा आफूहरू नबस्ने बताएका छन् । लामा लिङदेन र थापा दुवै उपस्थित थिएनन् ।

यसैबीच कमल थापा नेतृत्वको राप्रपा नेपालले मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकमा सोमबार घोषणा भएको ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे छलफल हुनेछ । सो बैठकले सुवेदी नेतृत्वको समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे टुंगो लगाउने बर्तौलाले बताए ।

सोमबार घोषणा गरिएको समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई अनौपचारिक रूपमा बाइपास गरेर पूर्वपञ्च नवराज सुवेदीलाई संयोजक बनाइएको विषयले राप्रपामा तरङ्ग ल्याएको हो।

लिङ्देनले भने, ‘हामीलाई यो प्रक्रियामा कुनै जानकारी छैन, र हामी यसमा सहभागी पनि छैनौँ।’

समिति घोषणा कार्यक्रममा पार्टीका केही सदस्य उपस्थित भए पनि लिङ्देनसँग कुनै छलफल नगरी निर्णय लिइएको पाइएको छ।

लिङ्देनका अनुसार, ‘हामीलाई नवराज सुवेदीले समान विचारधाराका मित्रहरूको बैठक गर्ने कुरा भनेका थिए, तर अहिले एक्कासि समिति घोषणा भएको कुरा आएको छ। हामी यसमा सहभागी छैनौँ।’ उनले समितिमा आफूलाई राखिएको कुरा पनि खण्डन गर्दै भने, ‘हाम्रो पार्टीको अनुशासन समितिले मलाई संयोजकको भूमिकामा बस्न अयोग्य ठानेको छ, त्यसैले यस विषयमा कुनै पनि टिप्पणी गर्न सक्दिनँ।’ तर राजसंस्थाको पक्षमा हुने जुनसुकै अभियानमा राप्रपाको साथ सहयोग रहने उनले बताएका छन् ।

यता लिङदेनले असन्तुष्टि जनाइरहँदा राप्रपाकै पशुपति शमशेर राणा, डा प्रकाश चन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरू समितिमा रहेको र उनीहरूले समितिलाई पनि स्वीकारिसकेकाले राप्रपाभित्र तरङ्ग उत्पन्न भएको छ ।

यसैबीच राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि मंगलबार बस्ने तय भएको छ । सुवेदीलाई अघि सारेर सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने एक नेताले बताए । यसअघि आइतबार बसेको कार्यसम्पादन समिति बैठकमा पनि यस विषयमा छलफल भएको थियो । छलफल नसकिएकाले आज फेरि बैठक बस्न लागेको हो ।

सदस्यमा नाम राखिएका राजावादी अभियन्ता केशरबहादुर विष्टले पनि कुनै जानकारी नभएको भन्दै यस्तो समितिमा आफू नबस्ने बताएका छन् । यस्तै सल्लाहकारमा राखिएका राजेश अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।