सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कार्य दक्षतामा अनुभवी दीपक थापा प्रहरीको ३१ औं आइजी

मंगलबार, चैत्र ५ २०८१

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको हो । उनीसँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङसमेत आईजीपीको प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो ।

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी मंगलवारबाट अवकाशमा जाने भएपछि मन्त्रिपरिषदले सोमवार नै नयाँ आइजी नियुक्त गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले आज चैत ५ बाटै कार्यभार सम्हाल्ने छन् । मंगलवार कार्यालय समयको शुरुमै गृह सचिव गोकर्णमणि दुवाडीबाट दज्र्यानी चिह्न (फुली) लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गरेका थापा भक्तपुर जिल्ला निवासी हुन् । बिसं २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका थापाले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन्।

प्रहरीको ३० वर्षे सेवा अवधि नहटेको खण्डमा थापाले आगामी भदौमै अवकाश पाउनेछन् । यद्यपि प्रहरीको ३० वर्षे सेवाअवधि हटाउनेबारेको विधेयक संसद्मा पुगेको छ ।

प्रहरीको ३१औँ आईजीपीमा नियुक्त भएका थापा आजबाट अवकाश पाएका आईजीपी कुँवरसँगै ०७९ चैत ८ मा एआईजीमा बढुवा भएका थिए ।

हाल सीआईबीको प्रमुख रहेका थापाले उपत्यका प्रहरी कार्यालयको कमान्डसमेत गरिसकेका छन् । उनीसँग डीआईजी हुँदा वाग्मती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको कमान्ड सम्हालेको अनुभव छ ।

त्यसरी नै एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख, एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल प्रमुख भएर काम गरेको अनुभव उनीसित छ ।

यसरी नै डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगन्जको कमान्ड सम्हालेका थिए । प्रहरी निरीक्षकमा समेत उनले अनेक युनिटको कमान्ड सम्हालेका थिए ।