काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।
आक्रोशित हुँदै सांसद पन्तले भने, ‘इतिहास पढेर आउनू, जुम्लामा हा हु गरेजस्तो होइन ।’ त्यसपछि संसद्मा केहीबेर भनाभन भएको थियो ।
उनले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्शा रहेको तर २०१७ सालपछि पञ्चायतपछि चुच्चे नक्शा हराएको भन्दै त्यसको जवाफ मागेका छन् । उनले गणतन्त्र आएपछि चुच्चे नक्शा ल्याएको बताए । चुच्चे नक्शा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न तेर्साए ।
उनले राजावादीहरुको पछिल्लो आन्दोलनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर प्रयोग गरिएकोबारे पनि प्रश्न उठाए ।
उनले भने,‘तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ यसो हेर्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति रु देशभक्तिको नमूना यही हो रु’ उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए ।
राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तको टिप्पणी छ । उनले ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्डपनि याद गराए । उनले प्रविन गुरुङको हत्या भएको प्रसंग पनि निकाले । उनले नेपाली जनतालाई राजतन्त्र नचाहिएको दाबी गरे ।
उनले राजतन्त्र इतिहास भइसकेको भन्दै संसद्मा यसबारे बहस गर्न रोक लगाउन सभामुखको ध्यानाकर्षण गराए ।