काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले सरकारलाई बदनाम गर्नेगरि हल्ला गरिएको उनको भनाई छ ।
०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो। अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारे।
पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडी नलाग्न उनले कार्यकर्तालाई आग्रह गरे ।
नयाँ शहरी आयोजनालाई व्यवस्थित गर्ने गरी आफ्नो मन्त्रालय अगाडि बढेको पनि उनले बताए । मन्त्री सिंहले सबै भन्दा धेरै प्रभाव पर्ने र सहज हुने शहरको पहिचान गरी तिनीहरुलाई व्यवस्थित गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताए ।
अघिल्ला सरकारहरुले समेत अगाडि सारेको शहरी योजनालाई पूर्णता दिन आफुहरुले मन्त्रालयमा परामर्श गरिरहेको उनले उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले भने, ‘नेपालको अर्थतन्त्रले धान्न सक्ने गरी बढी से बढी काम गर्ने गरी हामी अगाडि बढेका छौं ।’